Thursday, March 4, 2010

प्रहरी नै यस्तो, ए हरि हरि! बाँच्ने कसरी?

बिहान सबेरै पत्रिका हेर्दा जमिम शाहको हत्या सम्बन्धी समाचारमा आँखा गयो। ‘कान्तिपुर’ले जमिम शाहका हत्यारासँग सम्पर्कमा रहेका पूर्व डीएसपी जगदीश चन्दलाई पक्राउ गर्नुअघि नै भागेर भारत पुगिसकेको खबर छाप्यो। भागेको त के भन्नु र, भगाइयो भन्नु पर्‍यो। पुलिसले नै सूचना दिएर भगाएका रहेछन्। दूधको साक्षी बिरालो! पुलिसले पुलिसलाई ‘तँलाई पक्रँदैछौँ है, भाग’ भनेर भनेपछि को भाग्दैन। अझ ‘नागरिक’ र ‘रिपब्लिका’ले त ती पूर्व डीएसपी मात्र हैन, अहिले काम गरिरहेका ३ जना डीएसपी पनि मतियार भएको खुलासा गर्दै प्रहरीले हत्यारा भनेर भनेका बब्बु उर्फ दीपक शाहीले मोबाइलबाट गरेको सम्पर्कहरुको ‘कल विवरण’समेत छापेको छ। त्यो हेर्दा तीन डिएसपी अर्जुन चन्द, गणेश चन्द र सुरेन्द्रबहादुर सिंह पनि हत्यारासँग सम्पर्कमा रहेको प्रष्ट हुन्छ। हत्याराले हत्याको योजना पनि पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रराज राईको घरमा बनाएको थियो।
यो सब घटनाक्रम हेर्दा जमिम शाहको हत्या पछाडि ठूलै षड्यन्त्र भएको बुझिन्छ। राष्ट्रिय अपराधीहरुसँग त प्रहरीका केही भ्रष्ट अधिकारीहरु मिलेको कुरा लुकेको थिएन। तर अन्तर्राष्ट्रिय अपराधीहरुसँग मिलेर समेत पूर्व र बहालवाला प्रहरी अधिकारीहरु हत्याको योजना बनाउँदा रहेछन् भने सुरक्षा खोज्न हामी कहाँ जाने ?

बब्बु उर्फ दीपक शाही। यही भारतीय नागरिकले नेपालका प्रहरी लगायत ज्ञात अज्ञात ठूलाठालुहरुसँग मिलेर हत्याको योजना बनाएका रहेछन्।


प्रहरी हिरासतमा रहेका सई प्रकाश क्षेत्री। उनलाई दीपक शाहीसँग सम्पर्क गरेको अभियोग छ। त्यसरी नै सम्पर्क गरेका अरु तीन डीएसपी भने चोखै छन्। उनैले लिखित बयानका क्रममा आफ्नोभन्दा बढी पूर्वडीएसपी जगदीश चन्दको संलग्नता रहेको बयान दिएका रहेछन्। त्यो बयान फेर्न माथिल्लो तहबाट दिएको दबाब असफल भएछ। अनि समातिने नै भयो भन्ने सूचना पाएपछि हिजो बिहानै चन्द भागेका रहेछन्।
अहिलेसम्म प्रहरीले सई प्रकाश क्षेत्रीलाई मात्रै पक्राउ गरेको छ। त्यो पनि के नमिलेर पक्रेको हो कुन्नि। मुख्य योजनाकार र अपराधीलाई त प्रहरीले नै संरक्षण गरेर भगाएको अब त घाम जस्तै छर्लङ भइसकेको छ नि।
यो हप्ता भारतीय नागरिक पम्पाटीलाई लक्षित गरी लाजिम्पाट मै गोली हान्दा प्रहरीले तुरुन्तै सक्रियता देखाएको थियो। गोली हान्नेहरु कालो पल्सर बाइकमा आएको भन्ने सूचनाका आधारमा सबै कालो पल्सर चढ्नेलाई प्रहरीले छानबिन गरेको थियो। एक जना साथी भोलिपल्ट भन्दै थिए- हिजो ४ ठाउँमा चेकिङमा परियो। जमिम शाहको हत्या हुँदा त एक ठाउँमा पनि चेकिङ गरेको थिएन। त्यतिबेला अर्का साथीले भनेका थिए- त्यत्रो हत्या हुँदा पनि एक ठाउँमा चेकिङ थिएन यार, मलाई त प्रहरी नै मिलेको जस्तो लाग्यो। नभन्दै अहिले आएका तथ्य हेर्दा प्रहरी मिलेको रहेछ भन्ने देखिसकियो।
प्रहरी मिलेका भन्ने त प्रष्ट भयो तर जति नाम आएका छन् त्यति मात्र मिलेका पक्कै हैनन्। पर्दा पछाडि अझै ठूलै अनुहार यसमा संलग्न हुनसक्छ। जुन दिन हिन्दीमा शपथ लिएर पद निस्क्रिय भएका उपराष्ट्रपति राष्ट्रपति भवनमा पुनः नेपाली भाषामा शपथ लिन बाध्य भएका थिए, जति बेला जनपद, सशस्त्र र गुप्तचर तीनै सुरक्षा निकायका प्रमुखहरुलाई लिएर गृहमन्त्री चीन घुम्दै थिए, त्यही बेला प्रमाण बिना भारतले दाउद इब्राहिमको मतियारको आरोप लगाइएका जमिम शाहलाई लाजिम्पाटको बीच सडकमा ढालियो।
छानबिन समितिहरु टन्नै बनेका छन्। तर कुनैले पनि हत्याको रहस्य खोतल्न सक्दैनन् त्यसमा विश्वस्त भए हुन्छ। अब राजनीतिकरण हुन्छ। आफ्ना मान्छे बचाउने क्रम सुरु हुन्छ। केहीलाई बलिको बोका बनाइन्छ। मुख्य अपराधी अनि त्यसका ठूलाठालु मतियारहरु चोखै रहन्छन्। स-साना सहयोगीहरु पक्रेर काम देखाउनका लागि काम हुन्छ। जस्तै प्रहरीले अपराधीलाई सिमकार्ड बेचेको र मोटरसाइकल बेचेको आरोपमा रोशन पाण्डे र दिलीप थापालाई पक्रेको छ। अपराधीलाई भगाउने मोटरसाइकल चालक लक्ष्मण धमलालाई पनि प्रहरीले पक्रेको छ।
आशा गरौँ, अहिले मिडियाले जसरी यो घटनाबारे खुलासा गरेको छ, त्यसको दबाबमा ठूला मतियार पनि कानुनको दायरामा आउने छन्। नभए त प्रहरी नै त्यस्तो, ए हरि हरि ! बाँच्ने कसरी ? हे भगवान मलाई सुरक्षाकर्मीबाट बचाऊ, अपराधीबाट त म आफै बच्न सक्छु (मलाई मित्रबाट बचाऊ, शत्रुबाट त म आफै बच्न सक्छु भन्ने भनाईको रिमिक्स) गर्ने दिन आउनेछ।

No comments:

Post a Comment